१८ फाल्गुन २०७७, मंगलवार

पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं ?

आर्थिक सञ्जाल
२७ पुष २०७७, सोमबार ०६:३०

–दीर्घराज प्रसाई

आज पुस २७ गते । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग, तपस्या र योगदानलाई बिर्सेर नेपाललाई बुझ्न सकिँदैन । विक्रम संवत् १८०० भन्दा अगाडि दक्षिणतर्फ अंग्रेजी साम्राज्यबाट हिमतखण्डका धेरै राज्य हडप्न गलत नजर लगाउन थालेको अवस्थामा गोर्खाका राजा पृथ्वीनारायण शाह विशाल नेपालको एककीरणको महायक्षमा एक सपूत बनेर निस्के ।

विशाल नेपाल सिर्जनाको वीरताको इतिहासमा पृथ्वीनारायण शाह अजर अमर छन् । पृथ्वीनारायण शाह र त्यसपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरदेखि टिष्टासममका हिन्दूपति सेनवंशीका राज्यहरू, पाल्पा, कास्की, चौदण्डी हुँदै पश्चिमतर्फ बाइसी, चौबीसी हुँदै कुमाउ, गडवाल, काँगडासममका हिन्दू राज्यहरूको एकीकरण गरेर यसक्षेत्रका हिन्दू राज्यहरूको अस्मिता बचाएर विश्वको एक मात्र हिन्दू अधिराज्य स्थापित गर्न सकेका थिए ।

त्योबेला हिमवत् खण्डका स्वतन्त्र हिन्दू राज्यहरू संकटमा थिए । हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न नसके तापनि पृथ्वीनारायण शाहले ५४ जति हिन्दू राज्यहरू एकीकरण गरेर बनेको उसबेलादेखि निर्माण भएको नेपाल एक हिन्दू अधिराज्य हो ।

हिमवत् खण्डका सम्पूर्ण हिन्दू राज्यहरू एकीकरण गर्न सकिन्थ्यो तर एकीकृत हुन नसक्ने मूल कारण थिए । पृथ्वीनारायण शाहको विफरको बिमारबाट ५२ वर्षमा नुवाकोटमा देशवसान हुनु र ४० वर्षको उमेरमा नै अंग्रेजी जासुसको पारामा लागेर दरबारिया षड्यन्त्रबाटै हत्या गरिनु । यसरी विदेशी षड्यन्त्रको कारणबाट नेपालको राष्ट्रियताको इतिहास रक्तरञ्जित छ ।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाले बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह साह्रै चिन्तित थिए ।

उता इस्टइन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा हिन्दू धर्म र संस्कृतिको नाश गराएर इसाई धर्म लाद्न हिन्दूहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अनेकौं अत्याचार फिरंगीहरूको देखेर हिमवत् खण्डको यो क्षेत्र जोगाउन पृथ्वीनारायण शाहलाई अंग्रेजको अत्याचार देखेर हिमवत् खण्डका हिन्दूराज्यहरूलाई एकीकरण गर्ने जागृत गरायो ।

त्यसैले, नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भएर पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगढ, केही हातहतियार र मुसलमान योद्धासमेत गोर्खामा ल्याएका थिए ।

त्यही कारणले गर्दा नेपालको एकीकरणपछि नेपालको हिन्दू र बौद्ध बीचमा धर्मकर्म नमिलेता पनि मुसलमान र हिन्दूहरू बीचमा कहिले असामञ्जस्यता आएन र हिन्दू तथा मुसलमान नेपालको राष्ट्रियताका लागि उत्तिकै बफादार छन् ।

पृथ्वीनारायण शाहले एकीकरण गरेर विभिन्न जातजाति, धर्म, वेशभूषामा विभाजित नेपालीलाई एक नेपाली जातिमा परिणत गराएर सम्पूर्ण जातिको धर्म र संस्कृतिलाई नेपाली संस्कृतिमा परिणत गराएर नेपाली भाषालाई सम्पूर्ण जातिको अन्तरजातीय भाषामा परिणत गराई अनेकतामा एकताको सूत्र गाँसेका थिए ।

नेपाल साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो । नेपालका सबै जातिहरूलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समान रूपमा फुल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।

पृथ्वीनारायण शाहका दिव्य उपदेशमा सहमतिको आधार बनाएर अगाडि बढ्न हामी केन्द्रित भएर हिँड्न सक्यौं भने हाम्रा समस्याको समाधान त्यहीँबाट हुन्छ ।

भारतमा मुसलमान र अंग्रेजी साम्राज्यबाट हिन्दू अस्मितामाथि आक्रमण गरेर एकछत्र मुसलमान र अंग्रेजले प्रभाव जमाइरहेको अवस्थामा यस क्षेत्रको सार्वभौम अस्त्त्वि बचाएर राख्न सक्ने एउटा सपूत पृथ्वीनारायण शाहको जन्म हुनु नेपालीहरूको अहोभाग्य थियो ।

पृथ्वीनारायण शाहले उसबेला सोचेका र देखेका कुराहरू अहिलेसम्म पनि उत्तिकै सार्थक छन् । उसबेला पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न तदारूपता नदेखाएको भए नेपाल भन्ने देशको नाम निशाना पनि रहने थिएन । यसउसले राष्ट्र निर्माताबाट उसबेला मार्गदर्शन गरेका विचार र बाटोलाई नै हामी नेपालीहरूले जहिले पनि सहमतिको आधार बनाएर हिँड्न सक्छौं ।

यसका लागि अहिले पनि हामी जुनसुकै विचारका राजनीतिक दलहरूले उनको दिव्योपदेशलाई मूलनीति बनाएर त्यसैको आधारमा देशलाई निकास दिने कुरामा हामी सबैको विचार केन्द्रित हुन गयो भने यसरी हामीहरू सँधै अन्योलग्रस्त रहिरहने अवस्था आउनेछैन ।

पृथ्वीनारायण शाहलाई हामीले बुझ्दा उनले यो भूमिको एकीकरण गरेको बेलामा टुक्राटुक्रामा विभाजित जर्मनी र इटालीको एकसय वर्षपछि एकीकरण भएको थियो । नेपालको एकीकरण भएको १ सय वर्ष पछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी रेस्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बनेको थियो । नेपालको एकीकरण हुनुभन्दा २०/२५ वर्षपछि मात्र अमेरिका बेलायतको उपनिवेशबाट स्वतन्त्र हुन पुगेको थियोे ।

यस्ता कैयौं देश अन्धकारमा रहेका अवस्थामा पृथ्वीनारायण शाहको कारणले बेलायती साम्राज्यले यस क्षेत्रलाई हडप्न असफल भएको थियो । यस अर्थमा हामी नेपालीहरू सगौरवले नेपाली भएर विश्व संसारमा देखिएका छौं । पृथ्वीनारायण शाहको महानता के थियो भने उनी गोर्खाको राजा भएर पनि कान्तिपुरमा राजसिंहासनमा बसेपछि एकीकृत यो क्षेत्रलाई नेपाल अधिराज्य घोषित गरेका थिए ।

पृथ्वीनारायण शाहबाट जसरी प्रजातान्त्रिक मान्यताबाट विशाल नेपालको एकीकरण गरिएको थियो त्यसरी नै नेपाललाई हिँडाउन सकियो भने त्यही प्रजातान्त्रिक बाटोले स्थायित्व लिन्छ । उसबेलामा पृथ्वीनारायण शाहले विराज बखतीलाई मूलकाजी अर्थात प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए ।

तर, जनताको इच्छा कालु पाण्डेप्रति रहेकाले मूलकाजीमा उनले कालु पाण्डेलाई नै नियुक्ति गरेका थिए भने उनी कति प्रजातन्त्रवादी रहेछन् भन्ने पुष्ठि हुन्छ । तर, दुःखको कुरा कीर्तिपुरको लडाइँमा कालु पाण्डेको स्वर्गारोहण हुन ययो । कालुपाण्डेको स्मरणमा दहचोकमा कालुपाण्डेको सालिक खडा गरेर राष्ट्रिय एकीकरणका योद्धाका स्मरण गरिएको छ । कार्तिपुर विजयपछि राष्ट्रिय एकीकरणको अभियान जारी रह्यो ।

नेपालको एकीकरणपछि आम जनता र थुप्रै साना राज्यहरूको संरक्षण गर्ने पृथ्वीनारायण शाहको नीति थियो ती क्षेत्रका धर्म, कर्म, परम्परा, रीतिरिवाज यथावत् राखेर सबै नेपालीको साझा सम्पत्तिको रूपमा परिणत गराएकाले सबै राज्यका जनता अत्यन्त खुसी थिए ।

पृथ्वीनारायण शाहले यसक्षेत्रका राज्यहरूको अवस्थाको जानकारी लिन रातिराति फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरूलाई दुनियाँका घरघरमा पठाएर शंखध्वनि गराएर शत्रुहरूलाई त्रसित बनाउन र शत्रुहरूबाट कही खतरा पाइएमा उनीहरूबाटै खबर बुझ्ने नीति थियो ।

अर्को कुरा जनताका घर–घरमा बिवाह कार्यक्रममा सम्राज्यवादीको विरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रशस्ति गाउने गरिन्थ्यो । कुहिरेका टाउकामा टवाक्–टवाक्, टवाक् भन्ने कीर्तिन स्वरूप विवाहको लगनको बेला प्रशस्ति गाएर प्रारम्भ गरिने चलन ल्याइयो जुन टिष्टादेखि काँगडासम्म अध्यावधि व्याप्त छ । यो विदेशी षडयन्त्र र आक्रमणबाट देशवासीहरूलाई सचेत गराउने पृथ्वीनारायण शाहको मनोवैज्ञानिक नीति थियो ।

कीतिपुरको लडाइँमा कालु पाण्डेको मृत्यु भएपछि पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाहको आँखा फुटेको थियो । आँखा फुटेपछि कान्तिपुरमा जयप्रकाश मल्लको संरक्षणमा रहेका केपुचिन पादरीसँग रहेका इसाई डाक्टरले शुरप्रताप शाहको आँखामा दबाइमुलो गरेका थिए ।

यस हिसाबले पृथ्वीनारायण शाह क्रिस्चियनहरूसँग शुरुमै सशंकित थिएनन् । तर, कीर्तिपुर विजयपछि केपुचिन पादरीले पृथ्वीनारायण शाहलाई कान्तिपुर आक्रमण गर्न असफल बनाउन र कीर्तिपुरबाटै लखेट्न इस्टइन्डिया कम्पनीसँग अंग्रेजी फौज सहायत मागेको र त्यही अनुरोधमा २४०० अंग्रेजी पल्टन कर्नेल किल्लोकको नेतृत्वमा सिंधुलीगढीबाट आउन लागेको बेलामा पृथ्वीनारायण शाहका गोर्खाली सेनाबाट हराएर भगाएपछि पृथ्वीनारायण शाह उपत्यकामा त्यसबेला अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीहरूको चालदेखि पृथ्वीनारायण शाह अत्यन्त सशंकित थिए ।

नेपालका सबै जातिलाई नेपालको भौगोलिक,जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समान रूपमा फुल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचिन पादरीलाई यहाँबाट धपाएर चर्चलाई सेनाले घोडाको तबेलामा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई बदनाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको १७ धार्नी नाक काटेका थिए भनेर केपुचिन पादरीलाई उल्लेख गरेर अंग्रेजी लेखक कर्कपेट्रिकले झुटा र कपोलकल्पित कुराहरू लेख्ने काम गरे जुन सोह्रैआना झुटा र कपोलकल्पित थिए ।

त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । पृथ्वीनारायण शाहले आफूले विजय गरेका राज्यका जनताको संरक्षण गर्ने नीति थियो । उनले आततायी प्रकारले दुनियाँलाई नै आतंकित पारेर विशाल नेपालको राजा हुने इराधा राखेका थिएनन् । अंग्रेजहरूले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुरवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो ।

त्यसबेला पृथ्वीनारायण शाहले सबैलाई सम्झाएका थिए–‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरंगी भनेको ब्वाँसो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर, फिरंगी भनेको अर्कै हो’ भनेर यस क्षेत्रका ससाना राज्यका जनतालाई साम, दाम, दण्डभेदको नीति अवलम्बन गरी एकताको सूत्रमा आबद्ध गराएका थिए । राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म पुगेपछि स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि १८३१ साउनमा –‘हामी किरात वंश सत्धर्ममा मन राखी गोर्खा वंशसँग एकै वंश भई मिल्नेछौं ।

साथै, कुनै विदेशीले तिमीहरूको राजा को हो र कहाँ छ रु भनी सोधेमा हामीहरूको राज्य गोर्खा हो, महाराज गोर्खामा छन् र हामी गोर्खा वंशका हौं भनी जवाफ दिनेछौं ।’ यसबाट पनि थाहा हुन्छ कि नेपालको एकीकरण भएपछि कुनै पनि जाति थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैती जस्तो भएर शासक पक्षबाट पेलिएर, आँसुका धारा बगाएर खुम्चिएर बस्नु परेन ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सबै राज्यका जाति जनजातिहरूको रीतिथिति, संस्कृति, धर्म, भाषा र वेशभूषालाई नेपालकै साझा सम्पत्तिको रूपमा ग्रहण गरेर आफूले जितेका राज्यहरूमा ‘जग्गामाथि रैतीको अधिकार’ भन्ने पृथ्वीनारायण शाहको नीति भएकाले कुनै राज्यहरूका जनतामा असन्तुष्ट थिएन ।

पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लव अर्यालले मुक्तकण्ठले विशाल नेपालको बारेमा त्यसबेला प्रशंसा गरेका थिए– ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि‘चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो ।

जहाँ हिमाल पर्वतकी पुत्री गुह्येकाली विराजमान भयाकी छन्, जहाँ पुण्या भयाकी बागमती छन्, जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिंग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन रहन्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिंगेश्वर पचली भैरव छन् ।’ पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झन्डा फहराएर हिमवत् खण्डको अस्मिता र मौलिकतालाई जीवन्त राखिएको थियो ।

हिमवत् खण्डको क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो । विशाल नेपालको निर्माणमा खुला आकाश जस्तै स्वतन्त्र भएर सबै जातजाति मिलेर नेपालको राष्ट्रिय एकीकरणको संरक्षण गर्न सबै एक हुनुपर्छ ।

पृथ्वीनारायण शाहका दिव्योपदेशमा सहमतिको आधार बनाएर अगाडि बढ्न हामी केन्द्रित भएर हिँड्न सक्यौं भने हाम्रा समस्याको समाधान त्यहीँबाट हुन्छ ।