१० बैशाख २०७८, शुक्रबार

इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनसँग लिभरपुल पराजित

आर्थिक सञ्जाल
२१ पुष २०७७, मंगलवार ०८:०६

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल साउथह्याम्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो ।

खेलको दोस्रो मिनेटमै लिभरपुल पछि परेको थियो । ड्यानी विङ्सले जेम्स वार्ड प्रोउजको पासमा गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए । त्यसपछि लिभरपुलले लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो ।

हारको बाबजुध पनि लिभरपुल शीर्षस्थानमै रहेको छ । लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ । साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।