८ बैशाख २०७८, बुधबार

तालचोकमा सहकारी बैंकको ६० औं शाखा सञ्चालनमा

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार २०:२१

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.ले उक्त शाखाको उद्घाटन गर्नुभयो । उद्घाटनपछि जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उहाँको भनाइ थियो । सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भन्नुभयो–दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नुपर्छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई वित्तीय रुपमा सक्षम बनाउदै सहकारीहरुलाई व्यावसिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका उपाध्यक्ष अपिल कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उहाँहरुले सहकारी क्षेत्रको एकमात्रै बैंकका रुपमा रहेको सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि कारोबार लगायतका कार्यमा सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकले ४४ वटा शाखामार्फत सदस्य सहकारीहरुका बीच कारोबार गर्दैै आएकोमा गत असारमा थप २४ वटा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो । २४ मध्ये १६ वटा शाखा सञ्चालनमा आइसकेका र थप ८ वटा शाखा सञ्चालनका लागि अन्तिम तयारी भैरहेको बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभयो । तालचोक सहित गण्डकी प्रदेशमा ६ वटा शाखा सञ्चालनमा रहेका र स्याङ्जाको पुतली बजारमा नयाँ शाखा सञ्चालन गर्ने तयारी रहेको जिसीले बताउनुभयो ।