६ बैशाख २०७८, सोमबार

महामारी पुर्वतयारी तथा प्रतिकृया सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन

आर्थिक सञ्जाल
२० पुष २०७७, सोमबार १७:४४

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण हाल केहीकम देखिएता पनि महामारीको जोखिम अझ कम भइ नसकेको अवस्था छ ।

कोभिड सम्बन्धी जनचेतनामा बिशेष जोड दिने र भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाको लागि जनस्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनु पर्ने आवश्यकता महसुश गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नबिल बैंक, चौधरी फाउन्डेसन, एसियाली विपद पुर्वतयारी केन्द्र तथा एनडिआरसीको संयुक्त साझेदारीमा स्वास्थ्य आपतकालिन (महामारी) पुर्व तयारी तथा प्रतिकृयाका लागि जनचेतना मुलक कार्यक्रम संचालन भएको छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय स्वास्थ्यकर्मी तथा मानवीय सेवामा कार्यरत विभिन्न संघसंस्थाहरुको क्षमता अभिवृद्धीका लागि उक्त अभीमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।

स्वास्थ्य आपतकालका बेला जनस्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरण र नेपाल जस्तो अतिकम विकसित र जनस्वास्थ्य क्षेत्रमा सिमित पुर्वाधार भएको मुलुकमा सो अवस्थाको पुर्व तयारीका निम्ती जनस्वास्थ्य एवं मानविय सेवा क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृिद्ध गर्ने उदेश्यका साथ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

बिराटनगरको होटेल रत्नमा सोमबार आयोजित उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकाल संचालन केन्द्र (एचइओसी) का प्रमुख डा.समिर अधिकारीले विपद पुर्व तयारी एवं व्यवस्थापन माथि प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी नबिल बैंकका व्यवसायिक सामाजिक उत्तरदायित्व प्रमुख कृष्ण सुबेदी तथा प्रदेश नं १ प्रमुख सुबोध लोहनीले नबिल बैंक समाज प्रति सदैव उत्तरदायी र विगत केही समयको निरन्तर अभ्यास पश्चात कार्यक्रम संचालन गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।

एसियाली विपद् पुर्वतयारी केन्द्र का देशीय प्रतिनिधि मानबहादुर थापाले कुनै किसिमको विपदको सामना गर्नुपुर्व सबैले विपदको पुर्वतयारीमा सबैको ध्यान केन्द्रीत रहनु पर्ने कुरामा विशेष जोड दिनुभयो ।

त्यस्तै चौधरी फाउन्डेसनकी प्रमुख संचालन अधिकृत मेरिना रञ्जितले विपदको बेला चौधरी फाउन्डेसनले गरेको कार्यहरुको स्मरण गर्दै आपतकालका बेला व्यवस्थित रुपमाकार्य गर्न यस किसिमको कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रदेश न. १ को राजधानी बिराटनगरमा सोमबारबाट सुरु उक्त प्रशिक्षण कार्यक्रम क्रमश प्रदेश न. २ को बीरगञ्ज, बागमती प्रदेशको भरतपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर तथा नेपालगञ्ज र सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा पनि संचालन गरिने बताइएको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।