१० बैशाख २०७८, शुक्रबार

सुमन सागाको ब्रान्ड एम्बासडर सुमन तिमल्सिना

आर्थिक सञ्जाल
१५ पुष २०७७, बुधबार १३:२४

 

काठमाडौं, पुस १५ गते । गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि,ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता लगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।

प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि खेल क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।

‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् । थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौं ।

हाम्रो यो कदमले थारै भएपनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ (सुमन) बाट सुरुआत गरेका हौं ।’ प्रबन्ध निर्देशक गुरुङले भने– ‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौं ।

देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसंग जोडिन पाउँदा असाध्यै खुशी लागेको छ ।’ उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाइ टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे ।

सुमनले ब्रान्ड एम्बसडरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिदै सागाको प्रवद्र्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रुपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । त्यसमा उनले बंगालादेश र श्रीलंकामा भएको प्रतियोगितामा स्वर्ण तथा मलेसियामा भएको प्रतियोगितामा कांस्य जितेका छन् ।

उनले १३ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनले क्यानाडामा भएको चौथो विश्व मार्सल आर्ट्स सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।