२४ फाल्गुन २०७७, सोमबार

आईसीसी अवार्डको मनोनयनमा पूर्व कप्तान पारस खड्का

आर्थिक सञ्जाल
९ मंसिर २०७७, मंगलवार १९:२३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डको मनोनयनमा परेका छन् ।आईसीसीले सार्वजनिक गरेको एसोसिएट राष्ट्रतर्फको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’ अवार्डका लागि पूर्व कप्तान खड्का मनोनयनमा परेका हुन् ।

यस अवार्डका लागि पूर्व कप्तान खड्कासँगै विभिन्न देशका ६ खेलाडी परेका छन् । यस मनोनयनमा स्कटल्याण्डका तीन खेलाडीहरु केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन परेका छन् ।

त्यस्तै, नेदरल्याण्ड्स र पपुवा न्यूगिनीबाट पनि एक–एक खेलाडी मनोनयनमा परेका छन । नेदरल्यान्ड्सबाट पिटर बोरेन र पपुवा न्यूगिनीबाट असाद भाला मनोनयनमा परेका हुन् ।

आईसीसीले डिसेम्बर १८ तारिखमा भोटिङको आधारमा विजेताको नाम घोषणा गर्नेछ । पारस खड्काले सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनले सन २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए ।

उक्त समयमा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । तर, दश वर्षको समयमा नेपाली क्रिकेटले देखेको अधिकांश सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरेका थिए ।

उनले वि।सं।२०७६ साल असोज २८ गते राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेटमा उनलाई हालम्मकै सर्वाधिक सफल कप्तान मानिन्छन् ।