२८ बैशाख २०७८, मंगलवार

कोरोनाको आतंक, बैंक, बीमा कम्पनीका दर्जनौं शाखाहरु बन्द गरिए

आर्थिक सञ्जाल
२७ आश्विन २०७७, मंगलवार १३:२२

काठमाडौं । राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमणको कारण आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा कम्पनीहरुको थुप्रै शाखा कार्यालयहरु बन्द गरिएका छन् ।

कोरोना भाइरसको संत्रमण बढ्दै जाँदा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा कार्यालयहरु प्रभावित भएका छन् । ग्लोबल आईएमई बैंक, प्राईम बैंक , सेन्चुरी बैंक, सांग्रिला विकास बैंकका थुप्रै शाखा कार्यालय बन्द भएका छन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त अनौपचारिक तथ्याङ्क अनुसार करिब पाँच हजार बैंकका कर्मचारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।

दशैंमा बैंकका शाखा कार्यालयहरुमा सर्वसाधारणको चाप बढ्दै गइरहेको छ भने कोरोनाको कारण बैंकका शाखा कार्यालयहरु भने घट्ने क्रममा रहेका छन् ।

शाखा कार्यालयहरु बन्द हुँदा सर्वसाधारण दैनिक घण्टौ लाइन बस्न बाध्य हुँदै आएका छन् । मंगलबारदेखि कतिपय एटिएम बुथहरुमा समेत लाइन देखिएको छ ।

यता, बीमा कम्पनीहरुमा पनि कोरोना भाइरसको प्रकोप बढिरहेको छ । केही सिईओ सहित सयौं कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएकोे छ ।

त्यस्तै, कोरोना संक्रमणपछि बन्द गरिएको बीमा समिति गत आइतबारदेखि खुल्ला गरिएको भएपनि आंशिक रुपमा मात्रै काम भइरहेको छ ।