२५ बैशाख २०७८, शनिबार

२९ गते २१ दलको विरोध प्रदर्शन हुने

आर्थिक सञ्जाल
२५ आश्विन २०७७, आईतवार १६:२८

काठमाडौं । नेकपा मशाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले,नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट मोर्चा समेतको संलग्नतामा २१ राजनीतिक संगठनहरुले सरकार विरुद्ध यही असोज २९ गते काठमाडौको माईतीघर मण्डलामा १ बजे संयुक्त विरोध सभा गरि सरकार विरूद्व आन्दोलन घोषणा गरेका छन् ।

गत शनिबार बसेको २० राजनीतिक संगठनहरुको कार्यगत एकताको बैठकले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको निष्कर्ष निकाल्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एमसीसी सम्झौता खारेज गर्न, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिवन्ध हटाउन र कोभिड १९ मा सरकारबाट भएका भ्रष्टाचारको विरोध गर्न स्वास्थ्य सावधानी अपनाउँदै प्रदर्शन गर्न लागिएको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले एक विज्ञाप्ति प्रकाशित गर्दै जानकारी दिएका छन ।

२१ राजनीतिक संगठनहरुले स्थानीयस्तरमा पनि सरकार विरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । स्थानीयस्तरमा अनुकूल समयमा विरोध प्रदर्शन हुने गजुरेलले बताएका छन ।

‘केन्द्रमा जुन–जुन संगठनहरुको कार्यगत एकता भएको छ, तिनै संगठनका साथीहरुलाई जुटाएर स्थानीय स्तरमा पनि साथीहरुले अनुकूल समयमा आन्दोलन गर्नु हुन्छ,’ नेता गजुरेलले भनेका छन ।

सरकार विरुद्धको संयुक्त आन्दोलनमा नेकपा (मशाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च लगायत २१ वटा दल संलग्न छन् । राष्ट्रिय जागरण मञ्च विप्लव समूह निकट हो ।

विप्लव नेतृत्वको नेकपा पहिलेदेखि नै यो मोर्चामा आबद्ध थियो । तर सरकारले नेकपालाई प्रतिबन्ध लगाएकाले विप्लव समूहको राष्ट्रिय जागरण मञ्चलाई कार्यगत एकतामा समेटिएको एक नेताले जानकारी दिएका छन ।

यसैगरी जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा  (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) पनि कार्यगत एकतामा छन् । नेकपा (माओवादी) लाई पनि समाबेस गरिएपछि कार्यगत एकतामा रहेका संगठनहरुको संख्या २१ पुगेको छ ।

No description available.