८ बैशाख २०७८, बुधबार

उत्पादन सुरु नगरे भोकमरीले ल्याउन सक्छ :

आर्थिक सञ्जाल
१० बैशाख २०७७, बुधबार १०:१९
आर्थिक सञ्जाल वैशाख १०, २०७७ बुधबार
डा. चन्द्रमणि अधिकारी, अर्थविद्

पहिलो कुरा त मान्छेको जीवन नै हो । जीवनलाई सुरक्षा गर्ने विभिन्न तरिकाहरु हुन्छन्, अहिलेको लकडाउन भनेको जीवनको सुरक्षा गर्ने अन्तिम हतियार हो । सुरुमा हाम्रो तयारी अलिकति कम भयो, विश्व स्वास्थ्य संगठनले गम्भीरतापूर्वक लकडाउनको कुरा गरेपछि मात्रै हामीले सुरु गर्‍यौँ ।

त्यसकारण हाम्रो पूर्व तयारीमा केही कमजोरी भएको थियो । लकडाउनको विकल्प भनेको मात्रै दुईवटा छ, एउटा लकडाउनलाई पूर्णरुपमा हटाउने र अर्को लकडाउनको मोडालिटी परिवर्तन गर्ने ।

मेरो विचारमा चाहिँ लकडाउनलाई ‘स्लो डाउन’ गर्दै उत्पादनका क्षेत्रहरुलाई बिस्तारै सञ्चालन गर्नुपर्छ । न्युनतम उत्पादनहरु हुने किसिमले यस्ता उत्पादनका क्रियाकलापलाई अझ भन्दा आधारभूत उत्पादनका कुराहरुलाई हामीले सुरु गर्नैपर्छ । तर त्यसका लागि पर्याप्त सुरक्षा अपनाउनु जरुरी छ ।

तत्कालका लागि कृषि उत्पादनका कुराहरुलाई ध्यान दिनुपर्छ । अहिले धान र मकै रोप्ने बेला पनि हो । तरकारी र फलफूल पनि रोप्न सकिन्छ । कुखुरापालन आदिका कुरा पनि हुन सक्छन् । कतिपय स्थानमा यी वस्तुहरु उत्पादन त भएका छन् तर बजारमा आउन सकेका छैनन् ।

त्यसकारण पहिले उत्पादनदेखि उपभोगसम्मको चेन श्रृङ्खला छ, त्यसलाई सुरक्षित तबरले खुला गर्नुपर्छ । यसलाई नियमित गर्नुपर्छ ।

आधारभूत उत्पादन भन्नाले भान्सामा चाहिने कुराहरु र भान्सासँग जोडिएका सेवा तथा वस्तु र औषधीजन्य उत्पादनहरु हुन् । यो भनेको खाद्यान्न, पानी, औषधी आदि विषयहरु हुन् । अनि यी सबै ढुवानीका लागि चाहिने इन्धन पनि यससँगै जोडिएर आउँछन् । खाद्यान्नका कुरामा खाद्यान्न, तरकारी, लाइफस्टकका कुरा, मत्स्यपालन, कुखुरापालन आदि कुराहरु पनि पर्छन् ।

हामीले सुरुमै अलिकति तयारी के गर्नुपथ्र्यो भने आपूर्ति त सरकारले सुचारु गर्छौ भन्यो तर उत्पादन नै नभए आपूर्ति को कुरा कहाँबाट आउँछ र ? त्यसकारण आपूर्ति मात्रै सम्भव छ र भन्ने प्रश्न आउँछ । त्यसकारण आपूर्तिलाई उत्पादनसँग जोड्नुपर्छ र उत्पादन सुरु गर्नैपर्छ ।

तत्कालका लागि कृषि उत्पादनका कुराहरुलाई ध्यान दिनुपर्छ । अहिले धान र मकै रोप्ने बेला पनि हो । तरकारी र फलफूल पनि रोप्न सकिन्छ । कुखुरापालन आदिका कुरा पनि हुन सक्छन् । कतिपय स्थानमा यी वस्तुहरु उत्पादन त भएका छन् तर बजारमा आउन सकेका छैनन् ।

त्यसकारण पहिले उत्पादनदेखि उपभोगसम्मको चेन श्रृङ्खला छ, त्यसलाई सुरक्षित तबरले खुला गर्नुपर्छ । यसलाई नियमित गर्नुपर्छ ।

तर उनीहरुलाई सुरक्षित भने बनाउनै पर्छ । त्यहाँ उत्पादक हुन्छ, थोक विक्रेता हुन्छ, ढुवानीकर्ता संलग्न हुन्छन् । उनीहरुले खुद्रा बिक्रेतासम्म पुराउँछन् र उनीहरुले उपभोक्ताको भान्सासम्म पुर्‍याउँछन् । सामान ढुवानी गर्न ट्रकका चालकहरु हुन सक्छन्, उनीहरुलाई सामाजिक दूरी कायम गराई र पीपीई लगायतका स्वास्थ्य उपकरण उपलब्ध गराई काम सुरु गर्नैपर्छ ।

यस्ता कामहरुमा संलग्न हुनेहरुमा सुरक्षाको प्रबन्ध गरेर कृषिजन्य, पशुजन्य र मत्स्यजन्य उत्पादन तत्कालै नियमित गर्नुपर्छ । यसले आर्थिक गतिविधिमा केही सुधार ल्याउन सक्छ ।

यदि अबको समयपछि लकडाउन खुकुलो बनाइएन र उत्पादन वा उद्योग नै सुरु भएन, दैनिक ज्याला मजदुरी गर्नेहरुले काम पाएनन् भने मानिसहरुले विद्रोह पनि गर्न सक्छन्, जुन अन्य देशहरुमा सुरु भइसकेको छ ।

जब मानिसहरु भोकै पर्न थाल्छन्, त्यसपछि विद्रोह सुरु हुन थाल्छ । रोग लागेर मर्नु भनेको त एक ठाउँमा छँदै छ, त्यो बाट त जोगिएला तर आफूसित खाने कुरा र पैसा छैन भने भोकै मर्न पनि सकिन्छ । पैसा कमाउनका लागि काम छैन, काम नभईकन पैसा छैन, पैसा नभई सामान पनि किन्न पाइएन ।

र, भण्डारण गर्नका लागि पनि मेरो क्षमता छैन भन्ने जुन वर्ग छ, उनीहरुलाई घर जान पनि नदिने, खाने कुरा पनि नदिने र ती वर्गहरु भोलि एकीकृत भएर सडकमा आउने हो भने त्यहाँ विद्रोह हुन सक्छ । त्यसकारण अब लकडाउन बिस्तारै खुकुलो बनाउनैपर्छ ।

अर्को कुरा उत्पादनको कुरा के हुन्छ भने चाहे त्यो कृषिक्षेत्रको होस् वा औद्योगिक या त पशुपालन क्षेत्रको होस्, उत्पादनको शृङ्खलालाई तोड्नु हुँदैन । अहिले कतिपय स्थानमा चैते धान रोप्ने, कतिपय स्थानमा मकै छर्ने र कतिपय स्थानमा तरकारी रोप्ने बेला भएको छ ।

एउटा किसान नोक्सानीमा पर्‍यो भने अर्को किसान पनि हच्किन्छ, डराउँछ । कृषिजन्य उत्पादन गर्ने कि नगर्ने, के गर्ने भन्ने अन्योलमा रहेको हुन्छ । यदि त्यसो भएमा सम्पूर्ण उत्पादन प्रणाली फेल हुनसक्छ र उत्पादनमा ब्रेक लाग्नसक्छ । यदि त्यसो भएमा स्थिति भयावह हुनसक्छ ।

उदाहरणका लागि कसैले दुध उत्पादन गर भन्यो, किसानले उत्पादन पनि गर्‍यो, तर त्यसलाई बजारसम्म पुराउनु त पर्‍यो नि । दुध उत्पादन गर्नका लागि वा खान र खुवाउनका लागि दाना पनि चाहियो, घाँस चाहियो ।

त्यसका लागि दाना उत्पादनको अवस्था पनि हुनुपर्‍यो, ढुवानीको व्यवस्था पनि हुनुपर्‍यो । कुखुराको लागि दाना छैन भने अब यहीँ दाना उत्पादन सुरु गर्नुपर्‍यो । लागत अलि बढी पर्ला, तर चाहिन त चाहियो नि !

उत्पादन जन्य उद्योग खोल्नै पर्छ . उत्पादनजन्य उद्योगलाई सुरक्षात्मक उपायहरु अवलम्बन गर्दै आधारभूत वस्तुको उत्पादन हुने किसिमले वातावरण बनाउनुपर्छ ।

दोस्रो कुरा काममा मान्छेलाई लगाउने, सामाजिक दूरी कायम गरेर काममा लगाउने भन्ने कुरा सुरुवातमै गरेको भए अहिले यस्तो अवस्था आउने पनि थिएन । हामीले यो कुरा सुरुमै भन्न र गर्न सकिएको भए अहिले यो स्थिति आउने थिएन । अहिले केही निश्चित वर्गलाई मात्रै अप्ठेरो परेको छ, तर भोलि हामी सबैलाई अप्ठेरो पर्छ ।

अहिले कोरोनाको कारणबाट हाम्रो जीवनको नोक्सान हुने क्षतिभन्दा भोलि भोकमरीको कारणबाट अझै ठूलो नोक्सान समेत हुनसक्छ । भोलि मजदुर र निमुखा वर्गको विद्रोह पनि हुनसक्छ, बालबच्चाको कुपोषण पनि हुनसक्छ ।

भोलि औषधी नै नपाएर झन् ठूलो विपत्ति पनि आउनसक्छ । त्यसकारण यी कुराहरुलाई ख्याल गरेर अहिलेको लकडाउनलाई खुकुलो पार्दै कृषि उत्पादनमा जोड दिनु पर्दछ ।