१५ फाल्गुन २०७७, शनिबार

वरुथिनी एकादशी र विश्व सम्पदा दिवस

आर्थिक सञ्जाल
६ बैशाख २०७७, शनिबार १६:१६

आर्थिक सञ्जाल वैशाख ६, २०७७ शनिबार

सानु श्रेष्ठ –

काठमाडौं । वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन रहेको छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउँनु भएको हो भन्ने कथन रहिआएको पाईन्छ ।

कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउँने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाईन्छ भन्ने धार्मिक मान्यता रहेको छ । । शास्त्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दान मानिन्छ । यी दानहरु भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानको महत्व हुने गर्दछ ।

सुन दान भन्दा अन्न दान र अन्न दान र कन्या दान भन्दा पनि अझ विशेष महत्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो । यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिन देखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ ।

दशमीकै दिन काँसको थालमा एक पटक मात्र भोजन गर्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ । व्रतमा खानाको मात्र नियन्त्रण हैन, नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउँन जरुरी बताईन्छ ।

आज विश्व सम्पदा दिवस अप्रिल महिनाको १८ तारिखमा हरेक वर्ष नेपाल लगायत विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउँन सुरु गरिएको हो ।

दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । २०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ ।

भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको बताईन्छ । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ ।