२१ फाल्गुन २०७७, शुक्रबार

जापान र चीन उड्दै नेपाल एयरलाइन्स

आर्थिक सञ्जाल
२८ चैत्र २०७६, शुक्रबार १९:०८

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको दुई वाइड बडी ए–३३० जहाजले आज जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान भर्दै छन् । निगमका यी दुवै जहाजको व्यावसायिक उडान नभइ चाटर्ड र कार्गो उडान मात्रै हुन् ।

जापानले निगमको वाइड बडी जहाज चाटर्ड गरीे नेपालमा रोकिएका २०० भन्दा बढी नागरिक स्वदेश लैजान लागेको छ भने निगमको अर्को वाइड बडी जहाज मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्ने तयारीमा रहेको हो ।

आज राति ८ बजे निगमको जहाज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यो जहाज जापानी नागरिकलाई गन्तव्यमा पु¥याएर शनिबार नेपाल फर्कने जनाइएको छ । निगमको जहाज जापानी नागरिकलाई लिएर आज राति त्यसतर्फ जान लागेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार आजै निगमको अर्को वाइड बडी जहाज पनि औषधिजन्य सामग्री लिन ग्वाङ्जाओ उड्दैछ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगित गरिएको छ ।

निगमले जापानसहित नौ गन्तब्यमा आफ्ना दुइ वाइड बडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमको अर्को वाइड बडी जहाज आज साँझ ६ बजे चीनको ग्वाङ्जाओ उड्नेछ ।

चैत ११ देखि वैशाख ३ गतेसम्म देशभर लकडाउन घोषणा गरिएको छ । यो अवधिमा चैत १० देखि वैशाख १५ सम्म चरणबद्धरुपमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ ।

तर अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चाटर्ड तथा केही कार्गो उडान भइरहेका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई विभिन्न देशले जहाज चाटर्ड गरी स्वदेश फर्काइ रहेका छन् ।

आज मात्रै चार अन्तर्राष्ट्रिय उडान हुदैछन् । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले लकडाउनको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त रहेको र आज मात्रै चार उडान हुने बताउनुभयो । केहीबेरअघि बेलायतको टीटान एयरवेजले २४२ बृटिस नागरिक लिएर गन्तव्यतर्फ उडेको छ ।

बेलायतले नेपालस्थित दूतावासको समन्वयमा जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको हो ।

त्यसैगरी कोरियन एयरले पनि आज आफ्ना नागरिक स्वदेश लैजाँदैछ । बेलायतले यसअघि चैत २६ गते पनि सोही जहाज मार्फत आफ्ना करिब २५० नागरिक स्वदेश फिर्ता लगेको थियो ।

कोरियन एयरको उडानमार्फत उनीहरुलाई घर फर्काउन लागिएको हो । लकडाउनको अवधिमा कोरियन एयरको यो दोस्रो उडान हो । लकडाउनको अवधिमा दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् ।

चैत १० देखि आजसम्म जम्मा २४ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । यी उडान मार्फत तीन हजार ५०० भन्दा बढी विदेशी घर फर्किएका छन् । सबैभन्दा बढी उडान गर्नेमा कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको छ वटा उडान भएका छन् ।

त्यस्तै कोरियन एयरको दुई, टीटान एयरको दुई तथा मलेयिसया, मालिन्दो, इत्तिहाद र चेक रिपब्लिकनको समान एक–एक उडान भएका छन् ।

यसैबीचमा विशेष गरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्ड लगायतका तथा मलेसिया, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घरफर्किएका हुन् ।

नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याएर स्वदेश फिर्ताका लागि सहजीकरण गरेको थियो । रासस