२३ फाल्गुन २०७७, आईतवार

छोरो खोसिएकी आमा :

आर्थिक सञ्जाल
२५ चैत्र २०७६, मंगलवार १४:५१

आर्थिक सञ्जाल चैत्र २५, २०७६ मंगलबार

सरिता अर्याल

अनुभूति– ५

साझ पर्न लागिसकेको थियो । सुन्धाराबाट वानेश्वर पुग्नु पर्ने ट्याम्पु या माइक्रोबस पाउँला कि नपाउँला भन्दै मन डराइरहेको थियो । सिनामंगल लेखेको टयाम्पु मेरैअगाडि आएर रोकियो ।

चढ्न कुनै ठूलो कसरत गर्नुपरेन, सजिलै पसें भित्र । ट्याम्पु हिड्न सुरु भएको मात्र के थियो, मेरो तिघ्रामा बेस्कन हिर्काउदै अगाडि बसेकी केटीले भनिन् “ए दिदी पो हुनु हुदो रहेछ । अघिदेखि देखेको देखेको जस्तो लागेको, ठम्याउनै नसकेकी ।” अप्रत्यासित कुटाइले झमझमाएको तिघ्रा सुमसुमाउँदै मैले भनें “मैले त चिनिनँ त ?” “हेर दिदी कस्तो बिर्सिएको म क्या त गंगा ।

होइन होइन त्यो बेलामा त म विनिता पो त । ” उनको जबाफ दिने शैलीले मलाई लाग्यो सायद द्धन्दको बेलामा गाउँ जादा कतै भेटिएकी माओवादी केटी रहिछन् कि ।

तपाई हामीलाई भेट्न आउनु भएको होइन सुर्खेतमा । उत्पादन समूह रहेको गाउँमै हामीसितै एक रात बसेर जानुभएको होइन, बिर्सनु भयो । सम्झना त भयो । म भूमिगत माओवादी महिलाहरु गर्भवती र सुत्केरी भएर बसेको गाउँमा पुगेको थिएँ ।

रातै सारी र चौबन्दी चोलो, राता पहेंला पोते, तिलहरी, नौगेडी र अरुपनि गहनामा सजिएका ३२ महिलालाई मैले त्यहाँ भेटेकी थिएँ । गर्भवती भएका दुई महिनादेखि आठ महिना सम्ममा आफूखुशीले अनुकूल मिलाएर त्यहाँ पुग्नुपर्ने नियम रहेछ त्यो बेलाका भूमिगत माओवादीमा । बच्चा जन्मिएपछि बच्चा स्याहार्ने मानिस उनीहरुको घरमा छ र मान्छन् भने आ–आफ्नै घरमा लगेर छोडिदिदा हुने, नत्र बच्चा दुइ वर्षको नहुञ्जेल त्यहीं बस्नुपर्ने ।

उत्पादन समूह नाम थियो त्यो ३२ जनाको समूहको । म त्यहाँ पुग्दा कोही गर्भवती, कोही सुत्केरी र कोही बच्चा हुर्काउँदै गरेका ३२ जना महिला त्यहाँ थिए भने एक जना बरावर एक जना सुसारे तैनाथ । खानाको कुनै कमी थिएन ।

घिउ, मह, मासु, अण्डा त फालाफाल । ती केटीले सम्झाएपछि त्यो बेला म पुग्दाको त्यहाँको चित्रण मेरो आखाँअगाडि सबै घुम्यो, तर ती केटीलाई मैले के चिन्नु । रातो सारीमा सिन्दुर पोते गरेर सिंगारिएर बसेकीमध्ये कुनै थिइन् होला, तर अहिले को आधुनिक पहिरनमा मैले ठम्याउनै सकिनँ । तरपनि अँध्यारोमा झट्टी हानें– “तिमीलाई कस्तो देखेको त्यो बेला, अनि अहिले यस्तो कसरी चिन्नु त ?” “हो त नि ।

म त त्यो बेला महिना लागेको पेटमा थिएँ । मेरो छोरा भएको थियो । दिदी फर्किएको दुइ तीन दिन पछि नै म सुत्केरी भैहालेकी थिएँ त ।” “अहिले त छोरा स्कूल जाने भइसकेको होला नि ? अरु पनि नानी भए कि त्यै एउटा मात्र छ ?” गंगाले मेरो प्रश्नको जबाफ दिन अनकनाइन् । उनी अलि नर्भसजस्ती भइन् । मैले उनको अपठ्यारोपनलाई बुझें र कुरालाई अर्कोतिर मोड्दै सोधें– कहाँ छ बसाइ ?

सिनामंगल हस्पिटल छेउ । मलाई गंगासित धेरै कुरा सोध्न मनलाग्यो र वानेश्वर चोकमै उनलाई टयाम्पुबाट ओराले । हामी गफ गर्दै अगाडि बढ्यौं । “गंगा तिमी त सभासद् भयौ होला ? भन, मैले भेटेपछि आज सम्मका सबै कुरा म सुन्न चाहन्छु, तिमीलाई असजिलो हुदैन भने ।” ‘‘काँ सभासद् दिदी ! आज कसैले मेरो बारेमा पनि जान्न खोजेको देख्दा म त मख्ख परेकी छु नि दिदी, मलाई के असजिलो हुनु । मेरो छोरा जन्मियो । चार महिना म त्यहीं बसें । मेरो श्रीमान् त्यो बेला पूर्वमा हुनुहुन्थ्यो ।

चार महिनापछि आउनुभयो । श्रीमान्ले मैले नदेखेकी सासुसित मेरो र बच्चाको बारेमा कुरा गरिसक्नुभएको रहेछ । उहाँले मलाई र बच्चालाई एक रात आफ्नो घरमा पु¥याउनुभयो ।

घर झापा त मलाई थाहा थियो तर मध्यरातमा पुगेकोले मैले घर कहाँ हो ठम्याउनै सकिनँ । हामी तीन घन्टा जति त्यहाँ बसेर, बच्चा आमाको काखमा राखिदिएर सिन्धुलीतिर लाग्यौं । सिन्धुलीमा मैले मेरो कमव्याट ड्रेस कमरेड हिमालबाट पाएँ ।

म त्यहीं थिएँ भने श्रीमान् दाङ पुग्नु भयो । हामी छुट्टिएको छ महिना पनि भएको थिएन श्रीमान् शहिद भएको खवर मैले पाएँ । म पार्टीको काममा यता–उता गरिरहेकी थिएँ । पार्टी सार्वजनिक भएपछि मैले छोराको खोजी गरें ।

धेरै कोशीस गरेपछि मैले गाउँ त पत्तालगाएँ । राज्यसत्ताले बच्चा छोडेर जाने तेरा छोरा– बुहारी कहाँ छन् भनेर धेरै दुख्ख दिएकोले मेरा सासु र नन्द देवर कता गए–गए कसैले पत्ता नै पाएनन् रे । पछि सहिदको पैसा बाड्दा मैले मेरो श्रीमान्को नाममा कसले पैसा लिएछ भनेर खोजी गर्दै जाँदा सासुलाई फेला पारें ।

छोरोलाई पनि देखें तर देवर र सासुले मलाई चिन्दिनँ भनेर घरबाटै निकाले । लोग्ने म¥यो, छोरा पनि आफूबाट खोसियो, पार्टीलाई कुनै जानकारी नै नदिई छोराको खोजीमा लागेकोले पार्टीबाट पनि टाढा भइएछ, मेरो त कुनै रेकर्डनै भएन माओवादी लडाकु भनेर । आफूसंगैका साथीहरुले पैसा पाए, पद पाए, मैले केही पाइन ।

दुई–तीन जना साथीले आर्थिक सहयोग गरेर म काठमाडौं आएँ । धेरै ठाउँमा हार–गुहार गरें, तर माग्ने आएको जस्तो एक हप्तालाई खर्च बटुल्दै मेरो तीन महिना बितेछ ।’’ गंगाले रुदै भनिन् “दिदी मैले आफ्नै जिउ बेचें । मैले १० रुपैयाँमा पनि आफूलाई बेचें ।

बिस्तारै मैले काठमाडौंलाई चिन्दै गएँ । आफूलाई काठमाडौंलाई सुहाउने बनाउँदै गएँ । अहिले म एउटा डान्सवारमा काम गर्छु । काम फेरिएकोछ नाच्छु । पैसा पनि राम्रै छ तर खोइ के छैन छैनजस्तो लाग्छ ।

“तिमी दश वर्ष नाचौली त्यसपछि के गछ्र्यौ ? केटीहरु छोडेर तिमी बुढीको नाच हेर्न को आउँछ ? के सोचेकी छौ यस बारेमा ?” ‘‘दिदी मेरो छोरो पाएँ भने त्यै छोराको मुख हेरेर बस्छु ।

तर खोइ छोरालाई पनि पाउन सकिनँ ।’’ ‘‘तिमी तिम्रो छोरा भन्छ्यौ ? चार महिनाको बच्चा छोडेकी तिम्री सासुले त्यो नाति कसरी हुर्काइन् होला ? आज उनको लागि त तिम्रो श्रीमान् आएको छ नि सानो रुपमा, अनि किन दिउन् त तिमीलाई ।

’’ ‘‘दिदी मलाई बाटो देखाइदिनु न म के गरौ ?’’ ‘‘अरु नै काम पायौ भने गछ्र्यौ ?’’ उनले खुशी हुदै टाउको हल्लाइन् । म र गंगा छुट्टिने मोड आयो । उनले कामको याचना गरिन्, मैले हुन्छ म कोसिस गर्छु भन्दै छुटिएँ । पछि पो याद आयो न उनले मेरो नाम नै सोधिन् न त मैले ।