३० बैशाख २०७८, बिहीबार

नेपाल-भारत सीमा नाकाबाट हुल बाँधेर मानिसहरु भित्रिँदै

आर्थिक सञ्जाल
८ चैत्र २०७६, शनिबार ०८:४७

पत्रपत्रिकाबाट ,   ८ चैत्र २०७६, शनिबार

काठमाडौं । पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् । गड्डाचौकी नाकाः दैनिक पाँच हजार मान्छे हुल बाँधेर भारतबाट भित्रिँदै छन् ।

नाकामा ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । आशंका गरिएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन ।

कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ ।

स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ ।

तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् ।

गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ । भारतसँग जोडिएका कञ्चनपुरका अन्य साना नाका झन् अव्यवस्थित छन् ।

महाकाली र बेलौरी नगरपालिका क्षेत्रका नाकाका हेल्थ डेस्कमा पनि ज्वरो नापेर छाड्ने गरिएको छ । बेलौरीका मेयर पोतिलाल चौधरीले नाकामा आवतजावत नै बन्द गर्न छलफल भइरहेको बताए । महाकालीका प्रवक्ता दिलबहादुर सिँजालीले १० दिनका लागि आउजाउ बन्द गरिएको बताए । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले समेत सीमा–नाका बन्द गर्ने तयारी थालेका छन् ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा बनाउने भनेको क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्थापन पनि अलपत्र छ । १८ कोठे सामुदायिक स्वास्थ्य संस्थाको छात्रावासमा क्वारेन्टाइन राख्ने निर्णय नगरपालिकाले गरेको थियो, तर अहिलेसम्म केही काम भएको छैन । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालको बिरामी कुरुवा घरमा सात बेडको आइसोलेसन वार्ड बनाउन थाले पनि काम सुस्त छ । हालसम्म कोठामा कुचो लगाउनेबाहेक अरू काम भएको छैन । बेड व्यवस्थित गरिएको छैन भने जनशक्ति पनि छैनन् । आजको नयाँपत्रिका दैनिकबाट