७ बैशाख २०७८, मंगलवार

कोरोना भाइरसविरुद्ध लड्न सार्कको नेतृत्व : मोदीको प्रस्तावमा ओलीको समर्थन

आर्थिक सञ्जाल
१ चैत्र २०७६, शनिबार ०७:४७

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको प्रस्तावमाथि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीको प्रस्तावलाई स्वागत गर्दै कोरोना भाइरसविरुद्ध सार्कको नेतृत्वमा लड्ने रणनीतिमा आफ्नो दरिलो समर्थन रहने बताएका हुन् ।

‘प्राणघातक रोगविरुद्ध हाम्रा नागरिकलाई सुरक्षित राख्न सार्क सदस्य राष्ट्रसँग समन्वय गरेर काम गर्न मेरो सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले मोदीको ट्वीटमा रिट्वीट गरेका छन् ।
मोदीले ट्वीट मार्फत सार्क देशका शीर्ष नेतृत्वलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध मिलेर बलियो रणनीति बनाएर लड्नुपर्ने बताएका छन् । उनले भिडियो कन्फरेन्सको माध्यबाट समेत छलफल गर्न सकिने प्रस्ताव राखेका छन् । ‘एक साथ मिलेर हामी विश्वलाई उदाहरण प्रस्तुत गर्न सक्छौं,’ मोदीले गरेको ट्वीटमा उल्लेख छ ।

उनको प्रस्तवामा नेपालले मात्र होइन, भुटान, श्रीलंका र माल्दिभ्सका शीर्ष नेताले समेत स्वागत गरेका छन् । उनीहरूले संयुक्त रणनीति तयार गर्न आफ्नो साथ रहने जवाफ दिएका छन् । श्रीलंकका राष्ट्रपति गोटाबाया राजपक्षेले पनि प्रधानमन्त्री मोदीको ट्वीटको जवाफ दिएका छन् । उनले ‘अप्ठ्यारो परिस्थितमा अरूबाट सिकेर एकताबद्ध भई हाम्रा नागरिकलाई सुरक्षित राखांै’ भनेर जवाफ दिएका छन् ।

भुटानका प्रधानमन्त्री लोटे छिरिङले सानो अर्थतन्त्रलाई ठूलो असर पारेको भन्दै क्षेत्रीय समन्वय गर्नुपर्ने बताएका छन् । उनले भिडियो कन्फरेन्स भेट्ने वाचासमेत गरेका छन् ।
दक्षिण एसियाली देशमध्ये भारतमा कोरोना भाइरसको संक्रमित संख्या बढिरहेको छ । भारतका १३ राज्यमा ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमा ६४ जना भारतीय रहेको र १७ विदेशी नागरिक रहेको बताइएको छ । सबैभन्दा बढी केरलमा संक्रमित रहेका छन् ।

केरलमा १९ जना, महाराष्ट्रमा १४, उत्तर प्रदेशमा १० जना संक्रमित भएको पुष्टि भएको हो । तर, भारतमा अहिलेसम्म संक्रमितमध्ये एक जनाको मात्र मृत्यु भएको खबर छ । चार जना पूर्ण ठीक भएर घर फर्केका छन् । ७१ जना बिरामीको स्थिति स्थिर रहेको र अन्य ६ जना घर फर्कने तयारीमा रहेको बताइएको छ ।

नेपालमा अहिलेसम्म एक जना कोरोना संक्रमित देखिएकोमा उनी पूर्ण ठीक भइसकेका छन् । पाकिस्तानमा २२ जनामा संक्रमित देखिएको छ । माल्दिभ्समा आठ जना कोरोना भाइरस संक्रमति देखिएको छ । अफगानिस्तानमा सात जना देखिएका छन् । श्रीलंकामा पाँच जना, बंगलादेशमा तीन जना, भुटानमा एक जना संक्रमित देखिएका छन् ।

बंगलादेशका स्थानीय मिडियाका अनुसार कोरोना भाइरसको नक्कली खोप बेच्दै गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अहिलेसम्म विश्वमा कोरोना भाइरसको खोप बनेको छैन । नक्कली खोप बिक्री गरेको आरोपमा उनीहरूलाई दुई वर्ष जेल सजाय हुन सक्ने बताइएको छ ।आजको राजधानी दैनिकबाट