२५ बैशाख २०७८, शनिबार

ऋणपत्रले सेयर बजारमा यसरी हुन्छ फाइदा

आर्थिक सञ्जाल
२७ फाल्गुन २०७६, मंगलवार ०८:४०
आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६
काठमाडौं ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्कासन गर्ने क्रम बढ्दो छ । केन्द्रीय बैंकले २०७६–०७७ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको कम्तीमा २५% डिबेन्चर (ऋणपत्र) जारी गरिसक्नुपर्ने ब्यवस्था गरेसँगै यो क्रम चुलिएको हो । अहिले वाणिज्य बैंकसँगै फाइनान्स कम्पनीहरुले समेत ऋणपत्र जारी गर्न थालेका छन् ।
कम्पनीहरुले जारी गरेका ऋणपत्रमा लगानीकर्ताको आकर्षण तुलनात्मक रुपमा कम देखिएको छ । जनचेतना कमी र दोस्रो बजारमा कारोबार समस्याले सर्वसाधारणको रुचि कम देखिएको हो । यसबाहेक जनचेतनाको अभाव पनि उत्तिकै छ । यसबाट पुँजीगत लाभ हुने जानकारी पनि धेरैलाई छैन । धितोपत्र बजारमा ऋणपत्र लगानीको अर्को महत्वपूर्ण औजार हो । विज्ञहरुका अनुसार ऋणपत्रले सेयर बजारलाई समेत सुधार तथा विकास गर्न सहयोग पुर्याउँछ ।
सीएफए सन्तोष मौनालीका अनुसार धितोपत्र बजारमा पर्याप्त मात्रामा ऋणपत्र जारी हुँदा यसले वित्तीय क्षेत्रमा बारम्बार देखिने लगानी योग्य पुँजी (तरलता) अभाव न्यूनीकरण गर्न निकै सहयोग पुग्छ । कम्पनीहरुलाई पनि दीर्घकालीन लगानीकाृ आधार तय हुन सक्छ । तरलता सहज हुने, सूचीकृत कम्पनीले ऋणपत्र जारी गर्दा उसको कस्ट अफ फन्ड (लागत) कम हुन गई वित्तीय सूचक बलियो बन्ने सम्भावना पनि उत्तिकै रहन्छ । दीर्घकालीन प्रकृतिका ऋणपत्र जारी गर्दा लागत कम पर्ने भएकाले ब्याजदर घट्ने सम्भावना हुन्छ । यसको सीधा र सकारात्मक प्रभाव सेयर बजारमा देखिन थाल्छ ।
विशेष गरी बैंक तथा वित्तीय संस्थाले लगानी आकार वृद्धि गर्न ऋणपत्र निकै उपयोगी देखिएको छ । केन्द्रीय बैंकले ऋणपत्रको शतप्रतिशत रकम लगानी गर्न छुट दिएको छ । यसले वित्तीय संस्थालाई निकै सजिलो भएको छ । यसबाट अधिक मात्रामा तथा बोनस जारी गर्ने प्रवृत्तिमा पनि कमी ल्याउन सहज हुन्छ । तथापि, ऋणपत्रको रकम चुक्ता पुँजीमा भने गणना गर्न मिल्दैन । तर लगानी सीमा वृद्धि गर्न भने यो पुँजीका रुपमा गणना गर्न सकिन्छ ।

हाल बजारमा औसतमा १०% हाराहारीको ब्याजदर रहेका ऋणपत्रहरु जारी भइरहेका छन् । ऋणपत्रमा तिरिने ब्याजमा ३०% कर समेत बचत हुने भएकाले यसमा ऋण पुँजीको वास्तविक लागत ७% हाराहारी हुन आउँछ । तसर्थ, ऋणपत्रबाट पुँजी संकलन गर्ने कम्पनीका सेयरधनीलाई अझै बढी लाभ लिन सक्छन् । यस्ता संस्थाको नाफा, प्रतिसेयर आम्दानी लगायतका सूचक पनि तुलनात्मक रुपमा सबल देखिन सक्छ ।

यता, ऋणपत्रबाट संकलित शतप्रतिशत रकम पुँजी पर्याप्तता कोष गणनामा समावेश गर्न सकिने भएकाले काउन्टर साइक्लिकल बफर लागू गरेपछि कायम गर्नुपर्ने न्युनतम १३.५% भन्दा वास्तविक पुँजीको पर्याप्तता कोष बढी भएमा त्यसरी बढी भएको पुँजी कोषको ७.५ गुणासम्म थप जोखिम भारित ऋण प्रवाह गर्न पुँजी पर्याप्त हुनेछ । जसले ब्यवसाय बिस्तारमा सहयोग पुगेर कम्पनीको नाफामा सकारात्मक प्रभाव पर्ने विज्ञहरुको भनाई छ । यसबाट लगानीकर्ताले उच्च दरमा लाभांश प्राप्त गर्ने सम्भावना अझै बढ्छ ।

ऋणपत्रबाट थप पुँजी संकलन गर्दा कम्पनीको सेयर नबढ्ने भएकाले प्रतिसेयर आम्दानी बढ्दै जाने मैनाली बताउँछन् ।  यसका सकारात्मक प्रभाव पनि कम्पनीहरुको सेयर मूल्यमा देखिन सक्छ । बैंकहरुले निक्षेप संकलन गरेको रकमको ८०% रकम मात्र ऋण लगानी गर्न पाउँछन तर त्यही रकम यदि ऋणपत्रमार्फत संकलन गर्ने हो भने शतप्रतिशत नै ऋण लगानी गर्न पाइने हुँदा लागत कम पर्ने प्रष्ट हुन्छ । ऋणपत्रको दोस्रो बजार कारोबारमा ब्याजदर हस्तान्तरणको भने समस्या देखिएको छ । नेपालमा अहिलेसम्म यो समस्या कसरी समाधान गर्ने भनेर यकिन गर्न नसकेको अवस्था छ ।

के हो ऋणपत्र ?
कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाईमा विभाजन गरिएको अंश वा इकाईलाई ऋणपत्र भनिन्छ । अर्थात्, कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधिका सर्तहरु उल्लेख गरी आधिकारिक रुपमा गरिदिएको लिखित पत्र नै ऋणपत्र हो । यसको अंकित मूल्य साधारणतयः एक हजार रुपैयाँ हुने गर्छ । ऋणपत्र खरिदकर्ताले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्ध वार्षिक रुपमा ब्याज प्राप्त गर्छन् । कम जोखिम लिन चाहने लगानीकर्ताको रोजाइमा ऋणपत्र पर्छ ।
धितो जमानी भएको र नभएको, विमोच्य र अविमोच्य, परिवर्तनीय र अपरिवर्तनीय गरी ऋणपत्रलाई विभाजन गर्न सकिन्छ । ऋणपत्रका लगानीकर्तालाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने र मतदान गर्ने अधिकार भने हुँदैन । साधारण सभामा मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा उनीहरुको प्रभाव हुँदैन । त्यस्तै, ब्याजदर पूर्वनिध्र्रारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधारीले नाफामा दाबी गर्न भने पाउँदैनन् ।
ऋणपत्रको महत्व ?
कम्पनीलाई आवश्यक पर्ने थप पुँजी कम लागत भएको स्रोतबाट उपलब्ध हुन्छ । जसका कारण वित्तीय क्षेत्रमा बारम्बार देखिने तरलता सहज हुन्छ । बजारमा तरलता सहज भएसँगै बैंकहरुको ब्याजदर घट्छ । त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्न जान्छ । साथै, ऋणपत्रको माध्यमबाट हकप्रद सेयर निष्कासनमा नियन्त्रण हुन्छ भने कम्पनीहरुको प्रतिसेयर आम्दानी बढ्न टेवा पुग्छ ।