२५ फाल्गुन २०७७, मंगलवार

बञ्चरेडाँडामा फोहर विसर्जन वैशाखदेखि, १० स्थान अतिप्रभावित

आर्थिक सञ्जाल
१९ फाल्गुन २०७६, सोमबार १९:१०

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । सरकारले आगामी वैशाखदेखि दीर्घकालीन फोहर विसर्जनस्थल बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने भएको छ । पहिलो चरणको कार्य आगामी चैत अन्तिम साता सकिने र वैशाख १ गतेदेखि दीर्घकालीन रुपमा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने गरी काम अघि बढाइएको शहरी विकास मन्त्रालयले जनाएको छ । केही समय अघि आन्तरिक समस्याका कारण निर्माण रोकिए पनि हाल नियमित रुपमा निर्माण भइरहेको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले सिसडोलमा दुई वर्षका लागि भन्दै १३ वर्षदेखि फोहरको अन्तिम व्यवस्थापन गर्दै आएका थिए । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी पहिलो चरण सकेर फोहर राख्न शुरु गर्न लागिएको हो । हाल निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनस्थल अहिले फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलबाट दुई किलोमिटर पर पर्छ ।

केन्द्र सरकारले नै फोहर व्यवस्थापन गर्ने स्थान (ल्याण्डफिल) निर्माण गरिदिनुपर्ने कामपाको माग अनुरुप शहरी मन्त्रालयले निर्माण अघि बढाएको हो ।
विसर्जनस्थल निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको जिम्मा शहरी मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । सम्झौता गरिएको लामो समयसम्म पनि सिसडोलमै फोहर राख्दै आइएकाले पछिल्लो समय त्यहाँका बासिन्दाले फोहर विसर्जनस्थल अन्यत्र सार्न दवाव दिएपछि बञ्चरेडाँडामा निर्माण शुरु गरिएको हो ।

काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले आगामी दिनमा यसअघि जस्तो समयसमयमा फोहर नउठ्ने समस्या नरहने बताए । विगत वर्षमा वर्षात्का समयमा हप्तौँ फोहर नउठ्ने समस्या हुने गरेको थियो ।

१० स्थान अतिप्रभावित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले सिसडोल ल्यान्डफिल साइड आसपासका १० स्थान अति प्रभावित भएको जनाएको छ । एक महिनाअघि सम्पन्न उक्त अध्ययन प्रतिवेदनले १३ वर्षसम्म फोहर विसर्जन गराइएको स्थान सिसडोल आसपासका स्थानलाई प्रभावित देखाएको हो । उक्त स्थानको वातारणीय प्रभाव मूल्याङ्कन अध्ययन नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तको अग्रसरतामा भएको हो ।

प्रतिवेदनले सिसडोल आसपासका १० स्थान अति प्रभावित, १० ठाउँ प्रभावित र चार स्थान कम प्रभावित भएको देखाएको छ । नुवाकोट जिल्ला, ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी, सोती बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन् ।

त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ । यसैगरी ककनीका आठ र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् ।

डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेट९तरल पदार्थ० निष्काशन र व्यवस्थापन, माटामा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ । “स्थलगतरूपमा लिइएको नमूनाको प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो”, डा पन्तको भनाइ छ ।

अध्ययन गत असोज र कात्तिकमा गरिएको हो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमीनमा पु¥याएको असर, ल्यान्डफिल साइड आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल साइटबाट निष्काशित ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोका कणको अवस्था र तिनले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असरजस्ता विषय समेटिएका थिए । यसका लागि लिचेट निष्काशन हुने एक ठाउँबाट लिचेट तथा कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना सङ्कलन गरिएको थियो ।

त्यस्तै ल्यान्डफिल साइटका तीन ठाउँबाट माटो, सिसडोलका दुई ठाउँबाट ग्यास, ककनी–१ र २ का एकएक ठाउँबाट घुलनशील धुलाका कणका नमूना सङ्कलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।