२४ फाल्गुन २०७७, सोमबार

सेयर कारोबार दिनको ५ घन्टा बनाउन गृहकार्य, १ मिनेटमा २ करोडको कारोबार !

आर्थिक सञ्जाल
१९ फाल्गुन २०७६, सोमबार ०८:४०
आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं ।सेयर बजार बढ्न थालेपछि दैनिक कारोबार समय बढाउन गृहकार्य सुरु भएको छ । पछिल्ला केही महिनायता सेयर बजारमा नयाँ उत्साह थपिएको छ । दैनिक कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्न लागिसकेको छ । कारोबार रकम तथा लगानीकर्ता दुवै वृद्धि भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रत्येक दिन कारोबार समय १ घन्टा बढाउन खोजिएको बताएको छ । यसका लागि बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकमा यसबारे छलफल भएको छ ।

बोर्डले  समय थप्न प्रविधि तथा अन्य व्यवहारिक हिसाबले सकिन्छ कि सकिंदैन भनेर आवश्यक राय सुझाव समेत मागेको छ । धितोपत्र बोर्ड स्रोतले यसको पुष्टि गरेको छ । अहिलेको प्रारम्भिक छलफल अनुसार बोर्डले बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबार गर्नका लागि उचित हुने निष्कर्ष निकालेको छ । यसै अनुसार नेप्सेसँग पन राय सुझाव मागेको हो ।

अहिले दैनिक ४ घन्टा सेयर कारोबार हुँदै आएको छ । १ घन्टा समय थपिएमा अब दैनिक बजार खुल्ने समय ५ घन्टा पुग्नेछ । यसका लागि नेप्सेको पूर्वाधार र तयारीका बारेमा जानकारी गराउन निर्देशन दिंदै बोर्डले पत्र पठाएको स्रोतको भनाई छ । बोर्ड स्रोतले भन्यो, ‘नेप्सेलाई यथाशीघ्र कारोबार समय बढाउने बारेमा रायसुझाव सहितको पत्र पठाउन निर्देशन दिइएको छ ।’ यता, नेप्सेले पनि बोर्डले पत्र पठाएको स्वीकार गरेको छ । तर, हालसम्म यसबारेमा नेप्सेमा अहिलेसम्म औपचारिक छलफल भने भइसकेको छैन ।

नेप्से स्रोतले भन्यो, ‘बोर्डले २–३ दिन अगाडि पत्र पठाए पनि यसबारेमा आवश्यक छलफल सुरु भएको छैन ।’ अवश्यक अध्ययन र पूर्वधार विकास गरेर मात्रै प्रक्रिया अगाडि बढाइने नेप्से सम्बद्ध एक अधिकारीले नेपाली पैसालाई जानकारी दिए । यद्दपि, बोर्डले कारोबार अवधि बढाउने विषयलाई आफ्नो वार्षिक नीति तथा कार्याक्रमा नै समेटेको छ । सोही अनुरुप बोर्डले नेप्सेसँग राय माग गरेको हो ।

राफसाफमा ध्यान दिन आग्रह

बोर्डले नेप्सेलाई कारोबार समय बढाउनका लागि पत्र काटेसँगै राफसाफमा पनि ध्यान दिन सकरोकारवालाहरुले आग्रह गरेका छन् । लगानीकर्ताको छाता संगठन नेपाल इभेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कारोबार समय बढ्नु लगानीकर्ताका लागि निकै खुशीको कुरा भएको बताए । तर योसँगै नेप्से तथा  सीडीएसको प्रणालीमा पनि सुधार ल्याउन आवश्यक हुन्छ ।

उनले भने, ‘पछिल्लो समय कारोबार रकमले दिनदिनै रेकर्ड ब्रेक गर्दै गएको छ । यस्तो अवस्थामा राफसाफलाई चुस्तदुस्त बनाउनका लागि नेप्से तथा सीडीएसको प्रणालीमा सुधार ल्याउनुपर्छ ।’ कहिलेकाँही प्रणालीमा समस्या आउँदा राफसाफमा पनि केही कठिनाई हुने गरेको छ । समय थपेपछि कारोबार अझै बढ्ने भएकाले प्रणाली सुधार्नुपर्ने लगानीकर्ताको बुझाई हो ।

यसै क्रममा आइतबार पुनः सेयर बजारमा कारोबार रमकले रेकर्ड ब्रेक गरेको छ । यस दिन ४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यो औसतमा प्रतिमिनेट २ करोड रुपैयाँ हाराहारीको कारोबार हो । यसले अहिले पनि राफसाफामा स्वभाविक रुपमा दबाब दिएको छ । समय बढाउदा कारोबार रकममा अझै उल्लेख्य वृद्धि हुनेहुँदा लगानीकर्तालाई ‘क्लोज आउट’मा समस्या नआउने हिसाबले पूर्वाधार विकास गरेर कारोबार समय बढाउनुपर्ने अध्यक्ष रौनियारले जोड दिए ।
यता, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानभाटले कारोबार समय बढाउनु स्वागतयोग्य काम हुने बताए । तर, योसँगै नियामक निकाय नेप्से तथा सीडीएसको प्रणालीमा पनि सुधार ल्याउनुपर्ने उनले बताए । ‘कारोबार समय बढ्दा कारोबार रकम पनि बढ्दछ । यो ब्रोकर कम्पनीहरुका लागि राम्रो भए पनि बजार सञ्चालकको सिस्टममा पनि सुधार गर्न आवश्यक छ,’ उनले भने ।इशारा कोइराला