१८ फाल्गुन २०७७, मंगलवार

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

आर्थिक सञ्जाल
१४ फाल्गुन २०७६, बुधबार १८:०३

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।  सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् । नेपाली सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवनसहितको अस्पताल ५० श्यया क्षमताको छ ।

नेपाली सेनामा कार्यरत एवं भूतपूर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उक्त अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओपिडी सेवा रहेका छन् । त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, पोष्ट अपरेटिभ वार्डसहित प्रसूति शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओटी सेवा सञ्चालन गरिएको छ ।

अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेशअन्तर्गतका नेपाली सेनामा कार्यरत एवं पूर्वभूपू सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसबाट लक्षित वर्गले भरपुर उपयोग लिनुपर्नेमा जोड दिएका छन् ।