१० बैशाख २०७८, शुक्रबार

उद्योग वाणिज्य महासंघको चुनाव : कसको प्यानलमा को

आर्थिक सञ्जाल
१२ फाल्गुन २०७६, सोमबार ०९:४७

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि वरिष्ठ उपाध्यक्षमा तीव्र प्रतिस्पर्धा हुनेछ । महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमै चुनाव लडेर जितेका थिए ।

वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिँदै छन् । केही दिनअघि विराटनगरबाट प्रधानले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसके भने ढकालले आगामी बुधबार काठमाडौंबाट उम्मेदवारी घोषणा गर्दै छन् ।

प्रधानले यस अघिको निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई शेखर गोल्छाले पराजित गरेका थिए । ढकाल वर्तमान कार्यसमितिमा एसोसिएटतर्फबाट निर्विरोध चयन भएका हुन् ।

प्रधानको प्यानलबाट को ?

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रधानले औपचारिक रूपमा आफ्नो प्यानल घोषणा गरिसकेका छैनन् । तर प्यानल बनिसकेको उनले बताए । उनको प्यालनबाट वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिने तयारी छ ।

ढकालको प्यानलबाट को ?

औपचारिक उम्मेदवारी बुधबार घोषणा गर्न लागेका ढलालको प्यालनबाट पनि उपाध्यक्षमा उम्मेवारी दिने व्यक्ति पक्का भइसकेका छन् । ढकालको प्यालनबाट वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा गुणनिधि तिवारीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

एसोसिएट तर्फको उपाध्यक्ष भने हालसम्म तय भइसकेको छैन । ढकालको प्यानलबाट एसोसिएट तर्फको उपाध्यक्षमा चुनाव लड्न धेरै कार्यसमिति सदस्य इच्छुक हुँदा तय भइसकेको छैन । ढकालको प्यालनबाट एसोसिएट तर्फको उपाध्यक्षमा साहिल अग्रवाल, ज्योत्सना श्रेष्ठ, अखिल चापागाईंले इच्छा देखाएको एक व्यवसायीले बताए ।
यता, एसोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योति निर्विरोध बन्ने प्रयासमा लागेका छन् । ज्योतिलाई प्रधान र ढकाल दुवैले आफ्नो टिममा राखेको एक व्यवसायीले बताए ।

महासंघमा ढकाल र प्रधानको यात्रा

नेपाल उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानको यात्रा लामै छ । कार्यसमिति सदस्य हुँदै दुवैजना उपाध्यक्षमा पुगेका हुन् । वर्तमान कार्यसमितिमा ढकाल सर्वसम्मत उपाध्यक्ष भएका हुन् भने प्रधान महासंघको उप–निर्वाचनबाट निर्वाचित भएका हुन् ।

महासंघको पछिल्लो निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठ स्थानीय तहको उम्मेदवार बनेपछि महासंघले उनलाई हटाएको थियो ।

उक्त पदमा उपनिर्वाचन गर्दा प्रधान विजयी भएका हुन् । ढकाल भने एसोसिएट तर्फबाट सर्वसम्मत उपाध्यक्ष छानिएका हुन् ।

दुवै प्रत्यासीको जित्ने दाबी

वरिष्ठ उपाध्यक्षका उम्मेद्वारद्वय ढकाल र प्रधानले आ–आफ्नो जित सुनिश्चित भएको बताएका छन् । महासंघलाई बलियो बनाउन र यसको गरिमा कायम राखिराख्न अगाडि बढेको प्रधान र ढकालले बताए ।

ढकालले भने, “लामो समयसम्म कार्यसमिति सदस्य हुँदै उपाध्यक्षमा बसेर काम गर्दै आइरहेको छु । गएको निर्वाचनमा सर्वसम्मत भएको हुँ । महासंघको नेतृत्वमा गएर महासंघको गरिमालाई थप प्रभावकारी बनाउनेछु ।”