३० बैशाख २०७८, बिहीबार

अब १८ वर्ष नपुगी लाइसेन्स नपाइने,  अनिवार्य १० पास

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार २१:०३

काठमाडौँ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन(२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशकले बताए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ ।

विभागले लाइसेन्सको समय सीमा समेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । कम उमेरका चालकले सवारी साधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारी साधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयक माथि अहिले यातायात मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ ।

“मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।” चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशकले बताएका छन । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ । सघीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरुले ऐन बनाइरहेका छन् ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशले सघीय ऐन भन्दा पहिले नै नयाँ संविधान अनुसार ऐन बनाइ सकेका छन् । वाग्मती प्रदेशले यातायात व्यवस्था सम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।