२ जेष्ठ २०७८, आईतवार

भारतद्वारा नुवाकोटमा विद्यालयको भवन निर्माण

आर्थिक सञ्जाल
२७ माघ २०७६, सोमबार १६:०२

काठमाडौं । भारत सरकारले भूकम्प पश्चातको पूनर्निर्माण परियोजना अन्तर्गत नुवाकोटको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण गरेको छ । उक्त विद्यालयभवनको औपचारिक उद्घाटन २०७६ माघ २७ गते पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए । उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन‘अनन्त’ को पनि रहेको थियो । भारतीय राजदूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव श्रीमती सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गर्नुभएको थियो ।
नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।
भारत सरकारको नेरु ३९.५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीन वटा ब्लकहरु रहेका छन् । यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा रहेका छन् भने दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा समेत रहेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको थियो ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भूकम्प पश्चातको पूनर्निर्माण परियोजनालाई सम्पन्न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध छ ।