६ बैशाख २०७८, सोमबार

नेपाल टेलिकमको सीडीएमए सेवा बन्द हुने

आर्थिक सञ्जाल
२३ माघ २०७६, बिहीबार ०९:२४

२३ माघ काठमाडौं । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस ‘सीडीएमए’ सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको नेपाल टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।
बुधबार नेपाल टेलिकमको १६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्य सहित ‘सीडीएमए’ सेवा बन्द गर्ने तयारी भएको जानकारी दिएका थिए । प्रबन्ध निर्देशक अधिकारीका अनुसार आगामी आर्थिक वर्ष भित्रै उक्त सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने भएको छ ।
नेपाल टेलिकमले सन् २००५ मा पहिलो पटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलो पटक युनाइटेड टेलिकम ‘यूटीएल’ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो ।