२० फाल्गुन २०७७, बिहीबार

नेपाल टेलिकमको १६औं वार्षिकोत्सव

आर्थिक सञ्जाल
२२ माघ २०७६, बुधबार १५:२९

काठमाडौं, माघ २२ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको अबको चुनौती सेवाको गुणस्तर रहेको बताएका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै फोरजी ७७ वटै जिल्लामा विस्तार भइसकेकोले गुणस्तरमा सेवा नै अबको चुनौती रहेको बताएका हुन्।
अघिल्लो वर्ष नेपाल सेवा विस्तारलाई मुख्य एजेन्डा बनाएर सरकार हिँडेको र यो वर्षलाई भने गुणस्तर सेवा प्रदान गर्ने एजेन्डाको साथ हिँड्न मन्त्री बाँस्कोटाले टेलिकमलाई निर्देशन दिएका छन ।
अप्टिकल फाइबर बिछ्याउने काम पनि नेपाल टेलिकमलाई आएको साथै स्मार्ट टेलिकमलाई दिइएको जिम्मेवारी समेत थपिएकोले त्यसमा पनि लाग्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो । सरकारले नेपाल टेलिकमलाई धेरै सकारात्मक रुपमा रहेको तथा कान्छो छोरो मानेको उनको भनाइ छ । सोही कारण टेलिकमले प्रतिफल पनि त्यही अनुसारको दिनुपर्नेमा मन्त्री बाँस्कोटाको संकेत थियो ।
मन्त्री बाँस्कोटा उक्त कार्यक्रममा आउँदा कर्मचारीहरुले सेवा सुविधा थप गर्नुपर्ने माग सहितका प्ले कार्ड प्रदर्शन गरेका थिए । तर कर्मचारीप्रति मन्त्री बाँस्कोटाले भने असन्तुष्टि पोखका थिए । राजनीति गर्ने नै हो भने पार्टी कार्यालय गएर बस्न समेत अनुरोध गरे । वार्षिक उत्सव नाचगान गरेर मनाउनुपर्नेमा असन्तुष्टि पोखिनु राम्रो नभएको भनाइ रहेको थियो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहकलाई सहुलियत सेवा साथै गुणस्तरीय सेवा दिन नेपाल टेलिकमले भिन्न योजनाहरु बनाइ रहेको जानकारी दिंदैे फोरजी सेवा नेपालभर विस्तार भइसकेको अवस्थामा अब सीडीएमए सेवा बन्द गर्ने योजनामा रहेको बताए ।
सीडीएमए सेवा बन्द गर्दा वायरलेस सेवामा एकरुपता आउने र स्पेक्ट्रमको बचत हुने भन्दै उक्त सोचमा रहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिएका थिए । नेपाल टेलिकमले वर्षभरिमा पोष्टपेड सेवा बढी प्रयोग गर्ने देव विकास बैंक र प्रिपेड सेवा बढी प्रयोग गर्ने कला राईलाई सम्मान समेत गरेको छ ।