१८ फाल्गुन २०७७, मंगलवार

६ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक तीन बैंकको नाफा बढयो,तीनको घट्यो

आर्थिक सञ्जाल
१५ माघ २०७६, बुधबार ०९:३४

 

आर्थिक सञ्जाल । काठमाडौं, माघ १५ अहिलेसम्म ६ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । ती मध्ये तीन वाणिज्य बैंकले नाफा बढाएका छन् भने तीनले नाफा घटाएका छन् ।
अहिलेसम्म एनआइसी एशिया, सानिमा, नेपाल बैंक, सिद्धार्थ, लक्ष्मी र सिटिजन्स बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
एनआइसी एशिया, सानिमा र लक्ष्मी बैंकको नाफा बृद्धि भएको छ । एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ । उक्त बैंकले खुद नाफा ३३.३९ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख खुद नाफा गरेको थियो ।
सानिमा बैंकले पनि गत वर्ष भन्दा १६.८३ प्रतिशतले नाफा बढाएको छ । उक्त बैंकले पुससम्म १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकाले ९८ करोड २० लाख ८६ हजार खुद नाफा गरेको थियो ।
त्यसैगरी, लक्ष्मी बैंकले पुस महिनासम्म ९० करोड ३० लाख खुद नाफा गरेको छ । उक्त बैंकले गत वर्षको सोही अवधिमा ७२ करोड ३७ लाख नाफा गरेको थियो । गत वर्षभन्दा बैंकले २४.७६ प्रतिशतले नाफा बढाएको छ ।

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका सिद्धार्थ, नेपाल बैंक र सिटिजन्स बैंकले नाफा घटाएका छन् । सिद्धार्थ बैंकको नाफा ४.०१ प्रतिशतले घटेको छ । उक्त बैंकले पुससम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा सिद्धार्थ बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसैगरी, सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको पनि नाफा १८.६० प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख नाफा गरेको नेपाल बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड २३ लाख मात्र खुद नाफा गरेको छ ।
सिटिजन्स बैंकले चालु आर्थिक वर्षको छ महिनामा ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त बैंकले गत वर्षको सोही अवधिमा ७७ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष भन्दा सिटिजन्स बैंकको नाफा १०.७२ प्रतिशतले कमी हो ।
२७ वटा वाणिज्य बैंकमध्ये ६ वटा वाणिज्य बैंकले मात्र अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाँकी २१ वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा रहेका छन् । निक्षेप संकलन र कर्जा लगानी बढेकाले वाणिज्य बैंकको नाफा बढन पुगेको हो ।