७ बैशाख २०७८, मंगलवार

नेपाल भ्रमण वर्षका लागि १० हजार व्यक्तिलाई पर्यटकीय तालीम

आर्थिक सञ्जाल
१० माघ २०७६, शुक्रबार ०९:४९

 

काठमाडौं, माघ १० संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर १० हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटन मन्त्रालय र पर्यटन बोर्डले पर्यटन सम्बन्धी विभिन्न क्षेत्रका १० हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो । मन्त्रालयले पाँच हजार र बोर्डले पाँच हजारलाई तालिम दिन लागेका हुन् ।

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँ–गाउँमा घरबास सञ्चालन तालीम, अध्यागमन सम्बन्धी सेवा प्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ ।

यसैगरी ट्रेकिङ गाईड र माउण्टेन लिडर तालीम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकला सम्बन्धी, सरसफाइ र स्वास्थ्य सम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालीम प्रदान गर्न लागेको हो ।
बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन गर्न तालीमका लागि दुई करोड रकम विनियोजन गरेको छ ।
बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रम समेत सञ्चालन गर्न लागेको छ । यसैगरी, संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप पाँच हजार व्यक्तिलाई पर्यटन प्रवद्र्धन सम्बन्धी तालीम प्रदान गर्ने भएको छ ।
यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ जनवरी १ मा बिशेष समारोहबीच काठमाडौंको दशरथ रङ्गशालाबाट गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेकी थिएन् ।
नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्प सहित सरकारले नेपाल भ्रमण वर्ष मनाउन लागेको हो । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसैगरी, सन् २०१९ मा १२ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरिसकेको छ ।
पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना बनाएको छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । सरकारले १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखेको छ ।