२८ बैशाख २०७८, मंगलवार

काष्ठमण्डप निर्माणका लागि थप रकम निकासा

आर्थिक सञ्जाल
१० माघ २०७६, शुक्रबार ०९:१९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप सत्तलको निर्माणका लागि थप रकम दिएको छ । बिहीबार काष्ठमण्डप पुनर्निर्माण समितिलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पाँच करोड रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।
यस अघि काठमाडौँ महानगरपालिकाले पाँच करोड ५५ लाख रुपियाँ काष्ठमण्डप निर्माणका लागि दिइसकेको छ । चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालभित्र काष्ठमण्डपको पुनर्निर्माण सकिने विश्वास व्यक्त गरेका छन ।
‘रकम अभावका कारण कुनै पनि सम्पदा पुनर्निर्माण रोकिने छैन,’ ‘मूर्तअमूर्त सम्पदा संरक्षण र पुनर्निर्माण गर्न महानगर आफैँ सक्षम छ ।’ काष्ठमण्डप सत्तल पुनर्निर्माण काठमाडौँ महानगरपालिकाको पूर्ण अनुदानमा उपभोक्ता समिति मार्फत् भैरहेको छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा प्रदेश सांसद राजेश शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम ५५ प्रतिशत सकिएको जानकारी दिनुभयो । महानगरबाट थप अनुदान निकासा भएका कारण पुनर्निर्माणले थप गति लिने उहाँले बताए । काष्ठमण्डप पुनर्निर्माणका लागि वि.सं. २०७५ वैशाख १८ गते उपभोक्ता समिति गठन भएको थियो । २०७५ भदौ २९ गते निर्माण सम्झौता गरी महानगरपालिकाले ५० लाख रुपियाँ निकासा गरेको थियो । काष्ठमण्डप पुननिर्माणका लागि धनगढी र रौतहटको जंगलबाट काठ ल्याइएको संयोजक शाक्यले जानकारी दिए । कूल १९ करोड ८८ लाख रुपियाँ लागत अनुमान गरिएको काष्ठमण्डप पुनर्निर्माणका लागि १७ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएकोे छ ।