१४ फाल्गुन २०७७, शुक्रबार

बिमा कम्पनीले धमाधम घोषणा गर्न थाले लाभांश

आर्थिक सञ्जाल
२९ पुष २०७६, मंगलवार १०:०६

 

आर्थिक सञ्जाल । काठमाडौं, पुस २९ लगानीकर्ताले बिमा कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरणको काम करिव करिव सकाउन लागेपछि लगानीकर्ताले पनि बिमा कम्पनीबाट लाभांश पाउने अपेक्षा गरेकाले धमाधम ती कम्पनीको शेयर किन्न थालेका हुन् । लगनीकर्ताले उच्च लाभांश पाउने अपेक्षा गदै बिमा कम्पनीको शेयर खरिद गरिरहेका छन् । अहिलेसम्म चार निर्जीवन बिमा कम्पनीले मात्र लाभांश घोषणा गरेका छन् ।
२२ बिमा कम्पनीहरु नेप्सेमा सूचीकृत मध्ये अझै पनि १८ बिमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् । बम्पर लाभांश घोषणा गर्न सक्ने सम्भावना भएकाले लगानीकर्ताको नजर ती कम्पनीमाथि गएको स्टक ब्रोकरहरु बताउँछन् ।
अहिलेसम्म नेको इन्स्योरेन्सले ८.४२ प्रतिशत नगद लाभांश, हिमालयन जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद (कर सहित) दिने घोषणा गरेका छन् । यसैगरी, आइएमइ जनरल इस्योरेन्सले ६ प्रतिशत वोनस र त्यसमा लाग्ने कर ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साथै, प्रभु इन्स्योरेन्सले ११.३२ प्रतिशत नगद र ५ प्रतिशत वोनस दिने घोषणा गरेको छ ।
जीवन बीमा कम्पनीले भने अहिलेसम्म कसैले पनि लाभांश वितरण गरेका छैनन् । बम्पर लाभांशको आशाले नेपाल लाइफको मूल्य दिन प्रति दिन बढ्दै गएको छ । एक महिना अघि ८ सय रुपैयाँ नजिक रहेको नेपाल लाइफको शेयर मूल्य हजार रुपैयाँ नजिक पुगेको छ । यसैगरी, लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल)को शेयर मूल्य पनि आकासिएको छ ।
बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा, बुक क्लोज, वार्षिक साधारण सभाको चटारो भइरहँदा बिमा कम्पनीहरुको भने अहिलेसम्म कुनै चहलपहल देखिएको छैन ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्दैछन् । तर बिमा कम्पनीका लगानीकर्ता भने अझै पनि लाभांश घोषणाकै पर्खाइमा रहेका छन् ।
नियम अनुसार, चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुस मसान्तसम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा गरिसक्नु पर्छ । तर, उक्त समय सकिन लाग्दा पनि बिमा कम्पनीले भने साधारणसभा गर्न सकिरहेका छैनन् ।
बिमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लागेकाले साधारणसभा ढिला भएको बताइरहेका छन् ।
एनएफआरएस अनुसार बिमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्न सकेका छैनन् । जसका कारण लाभांश प्रस्ताव र साधारणसभा बोलाउन मै ढिला भइरहेको नियमनकारी निकाय बिमा समितिको भनाइ छ ।
नेपालमा बिमांकीय मूल्यांकन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेको र छिमेकी मुलुक भारतमा लगेर यसको मूल्यांक गर्नुपर्ने बाध्यता बिमा कम्पनीहरुमा रहेकाले साधारणसभा ढिला हुन गएको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
उच्च लाभांशको आशामा लगानीकर्ताले बिमा कम्पनीको शेयर खरिद गरिरहेका छन् । बिमा कम्पनीको शेयर बढेका कारण नेप्से पनि उकालो लाग्न पुगेको छ । सेयर बजार निरन्तर उकालो लागेपछि लगानीकर्ताले हौसिएर छन् । लाभांश वितरण गर्न बाँकी रहेका बिमा कम्पनीको शेयर खरिद गरिरहेका छन् ।