२० फाल्गुन २०७७, बिहीबार

विदेश घुम्न र पढनका लागि चार महिनामै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिए

आर्थिक सञ्जाल
२३ पुष २०७६, बुधबार १०:५०

 

काठमाडौँ  । पुस २३ विदेश घुम्न र पढनका लागि चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा २५ अर्ब ८० करोड बाहिरिएको छ । भ्रमण र उच्च शिक्षा अध्ययनकै नाममा चार महिनामै त्यति ठूलो रकम बाहिरिएको हो । गत वर्षको सोही अवधिमा ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्ष भन्दा यस वर्षको चार महिनामा २६.१ प्रतिशतले कमी आएको छ ।
गत वर्षभन्दा त्यसरी विदेश जाने रकममा कमी आएको छ । नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटाएका छन् ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु वर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको गत कार्तिक महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएका हो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ ।
राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ । यसले पनि विदेशमा अध्ययन र भ्रमणमा जानेमा कमी आएको अनुमान गरिएको छ ।

तर, आर्थिक वर्षको चार महिनामा विदेश अध्ययन र भ्रमणको खर्च घट्यो भन्दैमा यसलाई सुधारका रुपमा विश्लेषण गर्न नसकिने बिज्ञहरुको भनाइ छ । ‘आउँदा दिनमा कस्तो प्रवृत्ति देखिन्छ, त्यसको आधारमा विश्लेषण गर्न सजिलो हुन्छ,’ एक बिज्ञले बताए । भ्रमणमा हुने खर्च घटेसँगै विदेश अध्ययनका लागि बाहिरिने रकममा पनि कमी आएको छ ।

गत वर्ष (१२ महिना) विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ । अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो ।

भारत, चीन, अमेरिका, अष्ट्रेलिया, जापान लगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको प्रतिवेदनमा जनाइएको थियो ।

शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि सरकारले पनि विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल सुरु गरेको छ भने नैतिक रूपमा निरुत्साहित गर्न थालेको छ । यही कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सुधार देखिन थालेको राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षको बजेटमा विदेशी अध्ययनलाई कडाइ गर्ने कि भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । छलफलमा भारत, चीन, अमेरिका, अष्ट्रेलिया, जापान लगायत मुलुकबाट पछिल्लो समयमा रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएकाले भन्दै विदेशमा अध्ययनलाई कडाइ गर्ने बेला भइ नसकेको निष्कर्ष निकालियो । सोही कारण लगायत पछिल्लो समयमा दुई वटा तर्क बलियो भएपछि उक्त विषय अन्तिम समयमा बजेटमा राखिएको थिएन  ।

एकैपटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘छात्रावृत्तिमा विदेशमा अध्ययन गर्न जानेलाई कुनै अप्ठेरो हुँदैन,’ ती अधिकारीले भने, ‘तर, घरबाटै सबै खर्च व्यहोर्ने गरी गरिएका विदेशी अध्ययन निरुत्साहित गर्ने नीति सरकारको छ ।’ यस विषयमा निरन्तरजसो छलफल हुँदै आए पनि मुलुकको चालु खाता र भुक्तानी सन्तुलन घाटामा जान थालेपछि सरकार अलि बढी तातेको उनले बताए । ‘नेपालमा पनि धेरै राम्रा र गुणस्तरीय स्कुल क्याम्पस छन्, ती पर्याप्त नभए अरू पनि थपौं,’ उनले भने, ‘तर, पैसा छ भन्दैमा विदेशमा धेरै पैसा खन्याउनु भएन ।’