१८ फाल्गुन २०७७, मंगलवार

खल्ती र लर्ड बुद्ध फाउन्डेसनबीच सम्झौता

newaarthik
२९ कार्तिक २०७६, शुक्रबार १३:०४

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेसन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरूलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनिष मोदी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका तर्फबाट अध्यक्ष पंकज जलानले काठमाडौंमा आयोजित एक विशेष समारोहबीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् ।

सम्झौता अनुसार लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्नशिपका लागि आवेदन दिन सक्नेछन् । छोटो अवधिको इन्टर्नशिप पूरा गरिसकेपछि उनीहरूलाई ‘खल्ती’मा पूर्णकालीन रोजगारी प्रदान गरिनेछ । मुख्यतः खल्तीले विद्यार्थीहरूको कक्षाको पढाइमा बाधा नपुग्ने गरी इन्टर्नशिपका लागि अनुकूल समय प्रदान गर्नेछ । साथै, कलेजसँग परामर्श गरेर परीक्षा तथा महत्वपूर्ण शैक्षिक प्रोजेक्टहरूहरूको समयमा बिदाको पनि व्यवस्था गर्नेछ । त्यस्तै, मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत कर्मचारीहरूलाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरूबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरूलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ ।